नियम १६२
अदालतको नियमित प्रयोगकर्ता
(१) तीन वा सो भन्दा बढी भिन्न भिन्न मुद्दामा वारिस बस्ने व्यक्तिलाई अदालतले नियमित प्रयोगकर्ताको रूपमा मान्यता प्रदान गर्नेछ ।
(२) अदालतको नियमित प्रयोगकर्ता अदालतमा दर्ता हुनु पर्नेछ ।
(३) उपनियम (२) को प्रयोजनको लागि अदालतको नियमित प्रयोगकर्ताले आफ्नो नाम, थर, वतन, उमेर, बाबु वा आमाको नाम, थर खुलाई दुई प्रति फोटो समेत संलग्न गरी मुख्य रजिस्ट्रार समक्ष निवेदन पेस गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन प्राप्त भएमा सो उपर आवश्यक जाँचबुझ गरी मुख्य रजिस्ट्रारले अदालतको नियमित प्रयोगकर्ताको नाम अदालतको अभिलेखमा दर्ता गर्नेछ ।
(५) उपनियम (४) बमोजिम अदालतको अभिलेखमा दर्ता भएको अदालतको नियमित प्रयोगकर्तालाई अदालतले तोकेको ढाँचामा परिचयपत्र उपलब्ध गराइनेछ ।
(६) उपनियम (५) बमोजिमको परिचयपत्र अदालतको नियमित प्रयोगकर्ताले अदालतको परिसरमा प्रवेश गर्दा सबैले देख्ने गरी लगाउनु पर्नेछ ।